
काठमाडौं । भक्तपुरकी संक्रमित युवतीको बस्ने एरिया पनि सिल गरिएको छ । निदान अस्पतालमा कार्यरत २५ बर्षीया ति युवती बस्ने भक्तपुरको मध्यपुर थिमी नगरपालिका वडा नं-४ शंखधर साख्वा चोक एरिया पनि सिल गरिएको हो ।
संक्रमण फैलिन नदिन भन्दै जिल्ला प्रशासन कार्यालयले सिल गरेको जनाएको छ । बुधबार ति महिला कार्यरत ललितपुरको आरोग्य प्रतिष्ठान सिलपछि संक्रमणको जोखिम रहने भन्दै प्रतिष्ठानसंगै जोडिएको निदान अस्पताललाई पनि बिहानैदेखि सिल गरिएको छ ।
ति महिलाको मंगलबार कोरोना रिर्पोट पोजेटिभ आएको थियो । उनको अहिले टेकुस्थित सरुवा अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य नै रहेको अस्पतालले जनाएको छ ।
संक्रमित युवती नर्स नभई एकाउन्टेन्ट भएको पुष्टी
भक्तपुरमा बस्दै आएकी संक्रमित युवती ललितपुरको आरोग्य प्रतिष्ठानमा नर्स नभई एकाउन्टेन्टको रुपमा कार्यरत रहेको पुष्टी भएको छ ।
मंगलबार संक्रमित पाइएकी युवती प्रतिष्ठानमा नर्स नभई एकाउन्टेन्टको रुपमा कार्यरत रहेको पाइएको ललितपुर प्रहरी परिसरका प्रवक्ता तुल बहादुर कार्कीले अनमोलपोष्टलाई जानकारी दिए ।
युवतीलाई टेकु अस्पताल लैजाने अन्य दुईजनाको समेत कोरोना परीक्षण भइरहेको प्रवक्ता कार्कीले बताए । युवतीको सम्पर्कमा आएका अन्य ब्यक्तिहरुको पनि परीक्षण गर्ने तयारी भइरहेको छ ।










