
सुनसरी । धरानको बीपी प्रतिष्ठानबाट १८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । उनीहरुका पछिल्ला दुई वटा रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज भएका हुन् ।
उनीहरू सोमबार राति नै डिस्चार्ज भएर कोही बसमा र कोही एम्बुलेन्समा घर फर्किएका छन् । निको हुनेमा एक जना धरानकी महिला हुन् भने बाँकी झापाका स्थानीय हुन् ।
अस्पतालमा उनीहरुलाई धरान उपमहानगरका प्रमुख तिलक राई, प्रतिष्ठानका अस्पताल निर्देशक डा. गौरीशंकर साह, सहायक निर्देशक डा. विकास साह, कोरोना फोकल पर्सन डा. इन्द्र लिम्बूलगायतले बिदाइ गरेका थिए ।
१८ जना डिस्चार्ज भएसँगै अब प्रतिष्ठानमा ८० जना संक्रमित उपचाररत रहेको अस्पताल स्रोतले जनाएको छ ।











