
काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने छ ।
असार १० गतेबाट सुरु भएको बैठक आज चौथो दिन बस्न लागेको हो । आजको बैठकमा कोरोना रोकथामका विषयमा छलफल हुने बताइएको छ । यो विषयमा सदस्यहरुले आ–आफ्ना धारणा राख्नेछन् । यसअघिका बैठकमा सीमा समस्या समाधानमा केन्द्रीत रहेर नेताहरुले आफ्ना धारणा राखेका थिए ।
आज नेताहरुले कोभिड नियन्त्रणमा सरकारले गरेका कामकारवाही प्रभावकारी हुन नसकेको भन्दै थप प्रभावकारी बनाउन सुझाव दिनेछन् । साथै उनीहरुले औषधी उपकरण खरिदका क्रममा भएका अनियमितता र भ्रष्टाचारका विषय पनि उठाउने तयारी गरेका छन् । यसमा सरकारको आलोचना हुने निश्चित छ ।










