
काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा राजेश हमालको महानायकको पदवीबारे चर्चा भइरहेका बेला कलाकार दिपकराज गिरीले यसबारे मुख खोलेका छन् । उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफुलाई जबरजस्ती महानायक बनाइदिएको बताएका छन् ।
आफ्नो बाटो र लक्ष्य कहिल्यै पनि महानायकको घरतिर नमोडिएको गिरीको भनाई छ ।
“जब देखि कलाकार भए हरिदाइ, मदन दाइ र सन्तोष पन्त दाइ जस्तो बन्न पाए हुन्थ्यो भन्ने सोच्थे उनले आफ्नो फेसबुकमा लेखेका छन, मेरो बाटो ,मेरो लक्ष कहिले पनि महानायकको घर तिर मोड़िएन । मेरो गल्ति बिना नै मलाइ जबरजस्ती महानायक बनाउनेहरू लाइ धन्यवाद । जब असत्य चिच्याइ चिच्याइ बोलेर भिड जन्मा गरिरहेको हुन्छ, सत्यले चूपचाप आफ्नो बाटो हिड्नु राम्रो ।”
राजेश हमाललाई दिइएको महानायकको पदवीमाथि एकजना कलाकारले केहि दिनअघि मिडियामार्फत प्रश्न उठाएपछि यो बिषय अहिले वहशमा आएको हो । कलाकार दिपाश्री निरौलाले एक टेलिभिजन कार्यक्रममा राजेश हमालको महानायक पदवीमाथि प्रश्न उठाएकी थिइन ।
राजेश हमाललाई दिइएको महानायकको पदवी अहिले नरहेको समेत दावी गर्दै दिपाश्रीले अहिले चलेका कलाकारलाई त्यो पदवी दिनुपर्ने आशयको अभिब्यक्ति दिएकी थिइन । हमाललाई महानायक नमान्ने खालको अभिब्यक्तिबाट अहिले दीपाश्री सामाजिक सञ्जालहरुमा आलोचना खेपिरहेकी छन् ।









