कांग्रेसको महाधिवेशन फागुनमै हुने निर्णय (कार्यतालिकासहित)

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको महाधिवेशन आउने फागुनको पहिलो साता गर्ने निर्णय गरेको छ । केन्द्रीय कार्यसमितिको सोमबार सम्पन्न बैठकले महाधिवेशन आउने फागुनमा गर्ने निर्णय गरेको हो ।

कोरोना महामारीका कारण तीन महिना पार्टीको काम रोकिए पनि महाधिवेशन भने  फागुनमै  गर्ने सहमतिमा सबै नेता पुगेका छन् । सोमबारको पार्टी बैठकले प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र, पालिका र वडा तहको अधिवेशनको तालिका भने परिमार्जन गर्ने निर्णय गरेको  छ ।

कांग्रेस बैठक प्रस्तावित नागरिकता विधेयक र केन्द्रीय महाधिवेशनको तालिकासम्बन्धी एजेण्डा राखेर असार १६ गतेदेखि  सुरु भएको थियो । महाधिवेशनका लागि नयाँ प्रस्तावित तालिकामा क्रियाशील सदस्यताको नवीकरण, वितरण र छानबिन प्रकृया सकेर मंसिर मसान्तभित्र सम्पूर्ण सूची निर्वाचन आयोगलाई बुझाई सक्नुपर्ने उल्लेख छ ।

पार्टीका अन्तरिम संरचनासमेत अझै समायोजन भइसकेका छैनन् । जसले महाधिवेशनको तयारी अघि बढाउन कठिनाई परेको छ । पुरानो राज्य संरचनाका आधारमा रहेको पार्टीका संरचनालाई समायोजन गर्न कांग्रेसले मंसिरदेखि नै सुरु गरेको हो । २६ जिल्लाको समायोजन गर्ने काम साउन १० गते भित्र सक्ने पार्टीले लक्ष्य लिएको छ ।

त्यस्तै समायोजन नभएका जिल्लामा क्रियाशील सदस्यता वितरण र नवीकरण साउन मसान्तभित्र सक्ने र भदौ मसान्तभित्र सदस्यताको सूची केन्द्रमा पठाई सक्न मातहतका स्थानीय निकायलाई निर्देशन गरेको छ ।

महाधिवेशनको नयाँ तालिका

– फागुन ७, ८, ९ र १० गते : केन्द्रीय अधिवेशन

– पुस ६ गते :  गाउँ नगर, वडा अधिवेशन

–  पुस ८ गते : गाउँरनगरपालिका अधिवेशन

– पुस ११ गते : प्रदेशसभा क्षत्रीय अधिवेशन

– पुस १३ गते : प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जिल्लाका अधिवेशन

– पुस १६  गते : एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जिल्लाका अधिवेशन

– माघ ६ गते :  प्रदेश अधिवेशन

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार