
काठमाडौं । सिन्धुपाल्चोकको लिदी पहिरोमा परी अभिभावक गुमाएका ८ बालिकाको शिक्षाको जिम्मा पूर्वमन्त्री एवं नेपाली काँग्रेसका नेता मोहनबहादुर बस्नेतले लिने घोषणा गरेका छन् । उनले एक विज्ञप्ति निकालेर उनीहरुको शिक्षाको जिम्मा लिने घोषणा गरेका हुन् ।
उनले जुगल गाउँपालिकाको लिदी पहिरोमा परी अभिभावक गुमाउने ७ जना बालिका र बाह्रविसे पहिरोका एक जना बालिका गरी आठ जनालाई निःशुल्क कक्षा १२ सम्म होस्टेलमा राखेर पढाउने प्रतिबद्धता जनाएका हुन् ।
उनले जारी गरेको विज्ञप्तिमा पहिरोबाट अभिभावक गुमाएका स्मारिका दोङ्ग, सविता दोङ्ग, दुर्गा दोङ्ग, कविता दोङ्ग, अनिता दोङ्ग, कान्छी दोङ्ग, छिरिङ गोले र नाम नखुलेको साङबहादुर दोङ्गकी छोरीको पठनपाठनको व्यवस्था गर्ने उल्लेख गरिएको छ ।
उनले सबै बालबालिकालाई यसै शैक्षिक शत्रबाट काठमाडौं उपत्यकाभित्र रहेका स्कुलको होस्टेलमा राखेर पढाउने व्यवस्था गरिने भएकोले यथाशीघ्र सम्पर्कमा आउन वा ल्याउन सम्बन्धित व्यक्ति वा उनीहरुका आफन्तलाई आग्रह समेत गरेका छन् ।










