
बागलुङ । कोरोना महामारीका बेला खसी खाटेर गाउँलेलाई भेला गरी भोज खुवाउनेलाई कोरोना संक्रमण पुष्टि भएको छ । बागलुङ नगरपालिका १० भकुण्डको गलुवामा भोज खुवाउने व्यक्तिलाई नै कोरोना पुष्टि भएको हो ।
बागलुङ नगरपालिकाले भदौ ३ गतेदेखि समुदायमा कोरोना संक्रमण देखिएपछि निषेधाज्ञा जारी गरेको भएपनि उनले छोरीको न्वारनमा गाउँले र आफन्तलाई बोलाएर भोज गरेका थिए ।
लमजुङबाट आएर न्वारन गर्ने छोरीका बुबालाई नै संक्रमण पुष्टि भएपछि गलुवाका ७० जनाको स्वाब संकलन गरिएको छ । उनले भदौ १ गते छोरीको न्वारनमा खसी काटेरै भोज खुवाएका थिए। भोजमा ७० जना सहभागि भएको पाइएको छ । न्वारन गर्ने पण्डित र २२ दिनको बच्चासहित ७० जनाको स्वाब संकलन गरिएको बताइएको छ ।
सरकारले नै भिडभाड, भोज र धेरै मानिस एकै ठाउँमा जम्मा नहुन अनुरोध गर्दा पनि स्थानीयले त्यसको पालना नगर्दा बागलुङमा समुदायमै कोरोना फैलिएको नगरपालिकाले जनाएको छ ।











