
रौतहट । रौतहटका विजय रामको घटनामा संलग्न भएको आरोपमा रौतहटका तत्कालिन जिल्ला प्रहरी प्रमुखसहित ६ जनाविरुद्ध पीडित पक्षले जाहेरी दिएको छ । हिरासतमै प्रहरीको कुटपिटबाट मृत्यु भएको भन्दै परिवारले यातना र ज्यानसम्बन्धी कसूरमा अनुसन्धान गर्न आज जाहेरी दिएका हुन् ।
इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा मृत्यु भएका विजय महराका बाबु पनिलाल महराले रौतहटका तत्कालिन प्रहरी प्रमुख एसपी रविराज खड्का, इलाका प्रहरी कार्यालय गरुडाका तत्कालिन डीएसपी ज्ञानकुमार महतो, प्रहरी निरीक्षक नवीन सिंह, सई वीरेन्द्र यादव, हवल्दार फिरोज मियाँ धुनियाँ र मुन्ना सिंहविरुद्ध जाहेरी दिएका छन् ।
गाउँकै युवक निरन्जन राम हत्या आरोपमा ३२ साउनमा पक्राउ परेका विजय महराको हिरासतमै रहेका बेला उपचारका क्रममा वीरगञ्जको नेशनल मेडिकल कलेजमा मृत्यु भएको थियो । घटनापछि प्रहरीले रौतहटका एसपी खड्कालाई फिर्ता बोलाएर अहिले अर्का एसपी सिद्धिबिक्रम शाहलाई पठाइसकेको छ ।
उक्त जाहेरीलाई जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला प्रहरी कार्यालयमा पठाएको छ । उनको मृत्यभएसँगै रौतहटमा पीडित परिवार र स्थानीयले विरोध गर्दै आइरहेका छन् ।







