काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विषादीयुक्त तरकारी र फलफूल उपहार पठाएको छ । देशभरका जिल्ला प्रशासन कार्यालय मार्फत उपहार पठाएको हो ।
भारतबाट आयात हुने तरकारी तथा फलफूल बिना परीक्षण आयात गर्ने सरकारी निर्णयको विरोध गर्दै आन्दोलनको घोषणा गरेको नेविसंले पहिलो कार्यक्रम अन्तरगत उक्त उपहार पठाइएको बताइएको छ ।
आइतबार एक विज्ञप्ति जारी गर्दै नेविसंघ पूर्वमहामन्त्री काफ्लेले भारतीय तरकारी बिना जाँच आयात गर्ने सरकारी निर्णय विरुद्ध चरणवद्ध आन्दोलनको घोषणा गरेका थिए ।
आन्दोलनका कार्यक्रम अन्तरगत सोमबार देशभरका क्याम्पस अगाडि तरकारीसहित विरोध प्रदर्शन गर्ने, मंगलबार ७७ वटै जिल्ला प्रशासन कार्यालयबाट प्रधनमन्त्रीलाई विषाक्त तरकारी तथा फलफूल उपहार पठाउने तय भएको थियो ।
त्यसैगरी असार २५ गते विषाक्त तरकारीको असरबारे प्रचारप्रसार गर्ने, २६ गते मसाल जुलुस निकाल्ने र २७ गते माइतीघरमा प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको छ ।
असार १९ गते विहिबार बसेको मन्त्रिपरिषद् बैठकबाट भारतबाट नेपाल आयात हुने फलफूल तथा तरकारीमा प्रयोग भएको विषादी परीक्षण नगर्ने निर्णय गरेपछि यसको विरोध हुदै आएको छ ।








