
कैलाली । समता मिडिया सेन्टरले सुदूरपश्चिम प्रदेशका सरकारी अस्पतालहरुमा १२० थान अक्सीजन सिलिन्डर निशुल्क सहयोग गरेको छ । भक्त बि.बि. फर ह्युमानिटी र भक्त बिबि हेल्पिङ ह्याण्ड्स फर ह्युमानिटीको आर्थिक सहयोगमा समता मिडिया सेन्टरले १२० थान अक्सीजन सिलिन्डर सहयोग गरेको हो ।
सेन्टरले सेती प्रादेशिक अस्पताल धनगढीलाई ठूलो ३० थान, महाकाली अस्पताल कंचनपुरलाई ठूलो ३० थान,गौरिगंगा कोभिड अस्पताल चौमालालाई ५ थान ठूलो र २ थान सानो, नोभा अस्पताल धनगढीलाई ठूलो ५ थान,सारथी अस्पताल धनगढीलाई ठूलो ८ थान,बैतडी अस्पताललाई ठूलो ८ थान,बाजुरा अस्पताललाई ठूलो २ थान हस्तान्तरण गरेको छ ।
त्यसैगरी उपक्षेत्रीय अस्पताल डडेल्धुरालाई ठूलो ८ थान सानो २० थान, र डोटी अस्पताललाई ठूलो २ थान गरी ९८ थान ठूलो र २२ थान सानो गरी १२० थान अक्सीजन सिलिन्डर हस्तान्तरण गरिएको समता मिडिया सेन्टरका कार्यकारी अध्यक्ष मिलन परियारले जानकारी दिए ।
सेती प्रादेशिक अस्पतालका मेडिकल मेडिकल सुपरीन्टेन्डेन्ट डा.हेमराज पाण्डे,महाकाली अस्पताल व्यवस्थापन समिति सदस्य कौशिला ओझा,गौरीगंगा नगरपालिका कोभिड अस्पताल इन्चार्ज राज कुमार चौधरी,उपक्षेत्रीय अस्पताल डडेल्धुराका मेडिकल सुपरीन्टेन्डेन्ट डा.जगदिश भट्ट, जिल्ला अस्पताल डोटीका सुचना अधिकारी रेडियोग्राफर अमर सिंह भाटलाई समता मिडिया सेन्टरका कार्यकारी अध्यक्ष परियारले पत्रसहित सिलिन्डर हस्तान्तरण गरेको सो संस्थाले जनाएको छ ।
उपक्षेत्रीय अस्पताल डडेल्धुरा र बैतडी अस्पतालबबाट थप अक्सीजन सिलिन्डर सहयोग गर्न माग गरेपछि हिजै (सोमबार) राती ९ बजे ५० थान खाली सिलिन्डर रिफिलका लागि नेपालगंज पठाइ सकिएको अध्यक्ष परियारले बताए ।
०७२ सालको महाभुकम्पका बेला पनि भुकम्प प्रभावित क्षेत्रका भुकम्प पिडितहरुलाई राहत वितरण गरि महत्वपूर्ण भुमिका खेलेको भक्त बिबि हेल्पिङ ह्याण्ड्स फर ह्युमानिटीले गत बर्ष नेपालमा कोरोना नियन्त्रणका लागि नेपाल सरकारले लामो समयसम्म गरेको बन्दाबन्दीका बेला सुदूरपश्चिम प्रदेश लगाएत देशभरका विभिन्न जिल्लाहरुमा स्वास्थ्य सुरक्षा सामाग्री,दिर्घ रोगी जेष्ठ नागरिकहरुलाई औषधी र राहत सामाग्रीहरु वितरण कार्य गरेको भक्त बिबि हेल्पिङ ह्याण्ड्स फर ह्युमानिटीका संस्थापक भक्त बहादुर भण्डारीले जानकारी दिए ।
सुदूरपश्चिम प्रदेशको डडेल्धुरा जिल्ला अजयमेरु गााउँपालिका-१ बयडामा जन्मेका भण्डारी परिवारसहित विगत लामो समयदेखी संयुक्त राज्य अमेरिकाको टेक्टासमा बस्दै आएका छन् । उनि सामाजिक कार्यमा संलग्न हुदै आएका छन् ।










