सिट बाँडफाँटबारे बनेको कार्यदल संयोजकमा कृष्ण प्रसाद सिटौला चयन

कार्यदलको अर्को बैठक साउन २६ गते पुनः बस्ने


काठमाडौं । सत्ता गठबन्धनबीच आगामी निर्वाचनमा सिट बाँडफाँट गर्नेबारे मोडालिटी बनाउन तय बनेको कार्यदलमा कृष्ण प्रसाद सिटौला संयोजक चयन भएका छन् ।

आज दिउँसो बालुवाटारमा बसेको सत्तारुढ दलका नेताहरुको बैठकले कार्यदलको संयोजकमा सिटौलालाई चयन गरेको हो।

कार्यदलमा नेपाली काँग्रेसबाट सिटौलासहित संचारमन्त्री ज्ञानेन्द्र कार्की र महामन्त्री गगन थापा सदस्य रहेका छन् । यस्तै माओवादी केन्द्रबाट वर्षमान पुन, देव गुरुङ, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् । कार्यदलको अर्को बैठक साउन २६ गते पुनः बस्नेछ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र राष्ट्रिय सभा चुनावमा सत्ता गठबन्धनहरुले तालमेल गरेर जाने निर्णय गरेसंगै अब सिट बाँडफाँट गर्नेबारे छलफलमा जुटेका छन् ।

प्रत्यक्ष तर्फ प्रतिनिधिसभामा १६५ र प्रदेश सभामा ३३० निर्वाचन क्षेत्रको सिटमा बाँडफाँटका लागि कार्यदलले मापदण्ड र मोडालिटी बनाउने कार्यभार पाएको छ । प्रतिनिधिसभामा काँग्रेस एक्लैले कम्तीमा ९५ सिट र अन्य दलले कम्तिमा ८० देखि ८५ सिट दाबी गरिरहेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार