जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका १० को वडा कार्यालयमा मंगलबार राति तोडफोड गरिएको थियो । समुहमा आएका व्यक्तिहरुले कार्यालयको ढोका फोरेर सबै सामाग्री बाहिर ल्याएर आगो लगाइदिएका थिए।
कार्यालय तोडफोड र आगजनिको जिम्मा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले लिएको छ। नेपाल कम्युनिस्ट पार्टी जाजरकोट इन्चार्ज प्रेमप्रकाश वली ‘धमिल’ ले आगजनीको जिम्मेवारी लिएका हुन्।
वलीले पार्टीकै निर्देशनमा स्थानीय जनताले जलाएको प्रतिक्रिया दिए। वडा कार्यालयका सहयोगीलाई उनीहरुले नियन्त्रणमा लिई कागजात, क्यामेरा, कम्प्युटर, सोफा, टेवल, मोबाइल, दराज र कुर्सीमा आगजनी समेत गरेका थिए।
इन्चार्ज धमिलले आफ्नो पार्टीले भ्रष्टचारी र नैतिक पतन भएका स्थानीय तहका जनप्रतिनिधिलाई यसरी नै सिध्याउने निर्देशन भएकाले आफुहरुले यो अभियान चालेको बताएका छन् । १० का वडाध्यक्ष भद्रबहादुर ध्यार पनि नैतिक पतन, भष्ट र कमिशनखोर भएकाले पहिलो चरणको कारबाही स्वरुप सामग्री जलाइएको उनले बताए।