रौतहट । रौतहटमा तिर्थयात्री सवार बस दुर्घटना हँदा दुईजना तिर्थयात्रीको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्र्तगत पौराइ जंगलमा काठमाडौंबाट जनकपुरतर्फ गईरहेको ना.६ ख. ९०३० नम्बरको भारतीय तिर्थयात्री सवार बसलाई सोही दिशातर्फ गइरहेका को. १ ख २६२५ नम्वरको मालबाहक ट्रकले पछाडिबाट ठक्कर दिँदा २ जना भारतीय तिर्थयात्रीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
मृत्यु हुनेमा भारतको उडिसा राज्यको उपरा साही नयरखण्डाला मन्दीर जागामारा भुवनेश्वर खोडदाहाका ५४ वर्षीय चरण विशाल र ५२ वर्षीय विजयकुमार जेनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी नविन कार्कीले जानकारी दिए।
उनका अनुसार गएराति करिब पौने एक बजे रौतहटको चन्द्रपुर नगरपालिका १ स्थित पौराई जंगलमा यात्रुको शौचका लागि रोकेको अवस्थामा उक्त बसलाई ट्रकले पछाडिबाट ठक्कर दिएको थियो ।
दुर्घटनामा घाईते २१ जनामध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाई छ । गम्भिर घाइते तीर्थयात्रीमध्ये ५५ बर्षका सर्बेश्वर जेना, ५३ बर्षका शेषादेव जेना र ६३ बर्षका करुणा कर्जुनाको अवस्था गम्भीर रहेको वीरगञ्जस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ।
प्रहरी कार्यलयका अनुसार बसमा भारतको उडिसा राज्यका ६० जना तीर्थयात्री सवार थिए।