
कंचनपुर । कंचनपुर क्षेत्र नं.१ की प्रतिनिधि सभा सदस्य उम्मेदवार तथा पूर्वमन्त्री बिना मगरले आफ्नो प्रतिस्पर्धी कोहि नभएकाले गठबन्धनका उम्मेदवारहरु बहुमतले जित्ने दावी गरेकी छन् ।
सत्ता गठबन्धनले बुधबार कंचनपुर क्षेत्र नं.१ को लालझाडी-६ चान्देव बजारमा आयोजना गरेको संयुक्त घरदैलो कार्यक्रममा बोल्दै उम्मेदवार मगरले आफुहरुलाई जनताको ठुलो साथ, सर्मथन रहेकाले जित सुनिश्चित रहेको दावी गरेकी हुन् ।
आगामी मंसिर ४ गते हुने चुनावका लागि मत माग्दै घरदैलो कार्यक्रममा होलिएकी उनले अहिले देशमा मुख्य गरी प्रतिगमन र अग्रगमन शक्ति बीच लडाई भइरहेको बताईन् ।
प्रतिगमन पक्षले हिजो संविधान मिच्दै देशलाई अझै पछि धकेल्ने कार्य गरेको र अग्रगमन पक्षधर शक्तिले संविधानमा भएका जनताका अधिकारको रक्षा गर्दै विकास र समृद्धीको लक्ष्य लिएर अघि बढेको उनको भनाई थियो ।
उम्मेदवार मगरले अग्रमनको बाटोमा हिंडेको सत्ता गठबन्धनका उम्मेदवारलाई मतदान गरी विजयी गराउन पनि आग्रह गरिन् ।
उनले आफ्नो अघिल्लो कार्यकालमा कंचनपुरको दक्षिणी क्षेत्रमा समग्र विकासको गोरेटो खनिसकेकाले यसपटक त्यसको पुर्णता र थप नयां योजनाहरु सुरुवात गर्ने लक्ष्य रहेको बताइन् ।
कंचनपुरको लालझाडी गाउँपालिका अन्य पालिका भन्दा बिशेष रहेकाले यहाँको नदि कटानमा तटबन्ध र आरक्ष समस्या समाधान आफ्नो पहिलो लक्ष्य रहेको समेत मगरको भनाई थियो ।
कार्यक्रममा स्थानिय बाढि पीडितहरुले दोदा नदिमा तटबन्ध गर्नु पर्ने आफुहरुको पहिलो सर्त रहेको भन्दै उनको ध्यानाकर्षण गराएका थिए ।
बाढी पीडितहरुको समस्याबारे आफु सचेत रहेको भन्दै उम्मेदवार मगरले समस्या समाधान गर्ने प्रतिवद्धता समेत गरिन् ।
कार्यक्रममा बोल्दै कंचनपुर क्षेत्र नं.१ (क) प्रदेशसभा सदस्य उम्मेदवार बन्धु रानाले यस क्षेत्रको समग्र विकासका लागि गठबन्धनका उम्मेदवारहरुलाई बहुमतले जिताउन आग्रह गरे ।













