दार्चुलामा गठबन्धन र एमाले कार्यकर्ताबीच झडप, २ जना घाइते

दार्चुला । दार्चुलामा सत्ता गठबन्धन र एमाले कार्यकर्ताबीच झडप हुँदा २ जना घाइते भएका छन् । जिल्लाको नौगाड गाउँपालिकामा चुनावी प्रचारप्रसारको क्रममा दुई पक्षबीच झडप भएको हो।

जिल्लाको नौगाड गाउँपालिका ६ खेडमा प्रचारप्रसारमा खटिएको सत्ता गठबन्धन र नौगाडको जामिरमा हुने आमसभामा गइरहेका एमाले कार्यकर्ता बीच झडप भएको प्रहरीले जनाएको छ ।

झडपमा परी गठबन्धनका कार्यकर्ता नौगाड ६ का ३५ वर्षीय जयभानसिंह धामी र नौगाड गाउँपालिका वडा नम्बर ५ का एमाले कार्यकर्ता २४ वर्षीय निरे ठगुन्ना घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

एमालेको चुनावीसभालाई अवरोध गर्ने गरी आमसभामा जाने कार्यकर्ता रोक्न खोजेपछि झडप भएको एमाले नौगाड गाउँपालिका अध्यक्ष जनकसिंह ठगुन्नाले बताए । गठबन्धनका नेताले भने एमाले कार्यकर्ताले आफ्ना कार्यकर्तालाई कुटपिट गरेको आरोप लगाएका छन् ।

झडपमा परी घाईते धामीको टाउकोमा चोट लागेकाले थप उपचारका लागि कैलालीको धनगढी रिफर गरिएको गोकुलेश्वर अस्पतालले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार