
अछाम । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले जनतालाई झुट्टा आश्वासन नदिने र गर्न सकिने कुरा मात्रै बोल्ने गरेकाले जनताको बलियो साथ रहेको बताएका छन् ।
अछामको साँफेबगरमा आयोजित सत्ता गठबन्धनको संयुक्त चुनावी सभालाई संवोधन गर्दै अछाम क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेद्बार रहेका मन्त्री कुँवरले आफु निष्ठा र ईमान्दारीताको राजनीति गर्ने बताएकाले अछामी जनताको बलियो साथ रहेको बताएका हुन् ।
उनले ईमानदारीताको राजनीति स्थापित गर्न सत्ता गठबन्धनका उम्मेद्वारलाई वहुमतले विजयी गराउन आग्रह गरे। मन्त्री कुँवरले अछामको दिगो विकासका लागि सत्ता गठबन्धनका स्वच्छ छवि भएका ईमान्दार उम्मेदवारहरुलाई मंसिर ४ गते मतदान गर्न अनुरोध पनि गरे ।
अछामका जनताकै साथले आफु राजनीतिमा रहेको बताउँदै उनले संविधानको रक्षा गर्दै विकास र समृद्धिका लागि सत्ता गठबन्धन बनेको बताए ।
कार्यक्रममा बोल्दै पूर्वमन्त्री गोविन्द बन्दीले यसपटकको चुनाव चुनाव मात्रै नभई नेपालको अग्रगामी परिर्वतन, संविधानको रक्षा र लोकतन्त्रको विकासका लागि भएको बताए । उनले गठबन्धनका उम्मेदवारप्रति अछामका जनताको ठुलो साथ सर्मथन रहेकाले विजयी सुनिश्चित रहेको बताए।
२०७४ सालमा नेकपा माओवादी केन्द्र र एमाले बिच पार्टी एकिकरण गरी बनेको नेकपालाई जनताले वहुमत दिएर जिताए पनि केपीले ओलीले ३ बर्षमै सबै तहसनहस पारेको आरोप लगाए। ओली सरकारमा हुँदा उनले संविधान विपरित जनताको थलो संसदलाई दुई दुई पटक विघटन गरेर देशलाई अध्यारोतर्फ लैजान खोजेकाले काँग्रेस माओवादी, एकिकृत समाजवादी लगायतका दलहरु मिलेर संविधान र लोकतन् बचाएको उनले बताए ।
कार्यक्रममा कांग्रेसका केन्द्रिय सदस्य, पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री गोविन्द शाहले गठबन्धनका उम्मेदवार विरुद्ध जाने नेता,कार्यकर्ताहरु कांग्रेस बन्न नसक्ने बताए।
अहिलेको सत्ता गठबन्धन अछाममा मात्र नभई देशैभरी भएकाले ईमान्दारी साथ सबैले गठबन्धनका उम्मेद्वारलाई जिताउन उनले आग्रह समेत गरे । नेता शाहले देशको अस्तित्व बचाउन पनि गठबन्धन आवश्यक रहेकाले संघमा कलम, प्रदेस क मा रुख र प्रदेस ख मा हसिया हथौडा मतदान गर्न आग्रह गरे ।
कार्यक्रममा बोल्दै कांग्रेस प्रदेश महामन्त्री एवम् सत्ता गबन्धनबाट अछाम १ मा प्रदेश सभाका उम्मेदवार मेघराज खड्काले अछामको समग्र विकासका लागि गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे ।
अछाममा गौरवका आयोजना सेती लोकमार्ग, साफेबगरलाई नयां शहर बनाउनका लागि पहल गर्ने आश्वासन दिए । अहिले चुनाव संघिय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने र संविधान मास्ने बिचको लडाई भएकाले आफ्ना हकअधिकारको सुरक्षाका लागि सत्ता गठबन्धनलाई जिताउन उनले आग्रह गरे ।
कार्यक्रममा बोल्दै प्रदेस सभा ख का उम्मेदवार झपट साउँदले आफ्नो क्षेत्र पछाडी परेकाले निर्वाचित भएमा आर्थिक र भौतिक विकासमा महत्वपुर्ण भुमिका खेल्ने प्रतिवद्धता जनाए। उनले जिल्लाको रामारोशन क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा स्थापित गराउन जोडदार पहल गर्ने समेत बताए । उम्मेदवार साउँदले निर्वाचित भएमा स्थानिय स्थरमै रोजगार सिर्जना गर्ने दावी समेत गरे।












