
कैलाली । कैलालीमा बुहारीको हत्या आरोपमा सासू–ससुरासहित तीन जनालाई पक्राउ गरिएको छ । जिल्लाको गौरीगंगा नगरपालिका–२ की कविता बुढाको हत्या गरेको आरोपमा उनका सासु–ससुरासहित तनि जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कविताका ५२ वर्षीय ससुरा डिल्लीसिंह बुढा, उनकी श्रीमती ५० वर्षीया लहरी र ज्वाईं नाता पर्ने भजनी नगरपालिका–४ का ४१ वर्षीय जयबिर बुढालाई पक्राउ गरिहएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
डिल्लीसिंह र उनकी श्रीमतीले घरायसी विवादका कारण बुहारी कविताको हत्या गरेर शव जंगलमा गाडेको र ज्वाईं जयबिरले उनीहरुलाई सहयोग गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउँदले जानकारी दिए ।
उनकाअनुसार कविताको शव सामुदायिक वनमा खाल्डो खनेर पुरेको अवस्थामा फेला परेको थियो ।
प्रारम्भिक अनुसन्धानमा जेठ १८ गते घरमा विवादका क्रममा ससुरा डिल्लीसिंहले भान्सा कोठामा रोटी पकाइरहेकी कवितालाई चिरपटले हानेर हत्या गरेको र डिल्लीले श्रीमतीको सहयोगमा शव डोकोमा हालेर घरभन्दा करीब ३ किलोमिटर टाढा पर्ने गौरीगंगा नगरपालिका–१ को केदारेश्वर सामुदायिक वनमा पुर्याएर खाल्डोमा गाडेको प्रहरीको भनाई छ ।










