
कैलाली । गाडी दुर्घटनामा परी गम्भिर घाईते सुदूरपश्चिमका कानुन मन्त्री पृथ्वी बहादुर सिंहको मृत्यु भएको छ । दुर्घटनामा गम्भिर घाइते मन्त्री सिंहको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो । आज दिउँसो बझाङको केदारस्यूँ गाँउपालिका–१ धारछडामा दुर्घटना हुँदा घटनास्थलमै मन्त्री सिंहकी पत्नी ५० वर्षीया अमृता सिंह र ६५ वर्षीया भाउजु जया देवी सिंहको मृत्यु भएको थियो ।
दुर्घटनामा परी गम्भिर घाइते ५५ वर्षीय मन्त्री सिंह, उनका सुरक्षा गार्ड (पीएसओ) सहायक प्रहरी हवल्दार दीपक भण्डारी र गाडी चालक घर्मराज जोशीलाई थप उपचारका लागि नेपालगन्जस्थित मेडिकल कलेजमा रेफर गरिएको थियो।
कैलालीको धनगढीबाट बझाङ जाँदै गरेको सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी आज दिउँसो करिब दुई बजे बझाङको केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको थियो ।










