
विराटनगर । युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । विराटनगरमा २५ वर्षीया एक युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धनुषाको मिथिला बिहारी नगरपालिका ११ का ४३ वर्षीय टेकबहादुर तामाङ, २० वर्षीय विनोद चौहान र सिन्धुलीका १६ वर्षीय बालक रहेका छन् । युवतीले दिएको उजुरीका आधारमा प्रहरीले उनीहरुलाई आइतबार पक्राउ परेको बताइएको छ ।
पक्राउ परेका तामाङ प्रदेश २–०४–००१ ख ००२१ नम्बरको ट्रकका चालक र चौहान सहचालक हुन् । १६ बर्षका बालक पनि सोही ट्रकका सहचालक नै हुन् ।
विराटनगर महानगरपालिका–३ मा आइतबार विहान ट्रक पार्किङ गरेर राखेको स्थानमा ती युवतीको सामूहिक बलात्कार भएको स्थानीयले बताएका छन् । महिलाले प्रतिकार गरेपछि भेला भएका स्थानीयले प्रहरीलाई खबर गरेपछि लगत्तै प्रहरी त्यहाँ पुगेको थियो । प्रहरीले घटनास्थलबाट महिलाको उद्धार गर्दै तीन जनालाई पक्राउ गरेको हो ।
प्रहरी स्रोतका अनुसार घटनामा संलग्नहरु शनिबार राति ट्रक पार्किङ गरेर खाना खान विराटनगर बसपार्कस्थित होटलमा पुगेका थिए । खाना खाएपछि ट्रक राखेको ठाउँमा फर्कने क्रममा आरोपितहरु युवती चढेको सफारीमा नै चढेका थिए ।
घटनापछि आक्रोशित स्थानीयले ट्रकमा तोडफोडको प्रयास गरेका थिए ।









