त्रिपुरेश्वर बस आगलागी: चालकद्धारा आत्मदाह प्रयासको आशंका, गम्भिर अवस्थामा उद्धार


काठमाडौं । त्रिपुरेश्वको राहदानी कार्यालय अगाडी बस बिसौनीमा बसमा आगलागी हुँदा चालक गम्भिर घाइते भएका छन् । बा ५ ख ४२७४ नम्बरको रिद्धि सिद्धि यातायातको बस चालक काभ्रे, पनौतीका २५ वर्षीय दावा लामालाई जलेर गम्भिर अवस्थामा उद्धार गरिएको जिल्ला प्रहरी परिसर, भद्रकालीका डीएसपी राजेश थापाले बताए । प्रहरीले चालकलाई गम्भिर अवस्थामा उद्धार गरेर उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा लगेको छ ।
चालक लामा आफैँले गाडीमा आगो लगाएर आत्महत्याको प्रयास गरेको आशंका गरिएको छ । बसमा अन्य यात्रु थिएनन् । घटनाबारे अनुसंन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ट्राफिक प्रहरीसंग केहि विवादपछि घटना भएको भनि भनिएको छ जसबारे प्रहरीले अनुसंन्धान भइरहेको बताएको छ ।

काठमाडौंको मुटु मानिने त्रिपुरेश्वरको मुख्य सडकमा बस जलिरहँदा दमकल भने झण्डै आधी घण्टापछि आएर आगो निभाएको थियो । राजधानीकै मुख्य सडकमा दिनदिहाडै आगलागी हुँदा पनि ढिला दमकल आउनुले सुरक्षा सयन्त्र फितलो रहेको भन्दै आलोचना भइरहेको छ ।
त्रिपुरेश्वर राहदानी कार्यालय नजिकै केहि महिनाअघि एकजना बाइक राइडर गणेश नेपालीले ट्राफिक र महानगर प्रहरीसंग विवाद हुँदा आत्मदाह गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार