
डोटी । डोटीको एउटा वडा कार्यालयमा आगजनी गरिएको छ । जिल्लाको जोरायल गाउँपालिका वडा नं. ४ लक्ष्मीनगरको वडा कार्यालयमा अज्ञात समूहबाट आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
प्रहरीका अनुसार गएराति करिब १२ बजे तीर अज्ञात समूहले वडा कार्यालयमा आगजनी गरेका हुन ।
आग्जनीबाट वडा अध्यक्षको कार्यकक्षमा रहेका कागजातहरु ,फर्निचर लगायतका महत्वपुर्ण सामानहरु जलेर नष्ट भएको जोरायल इलाका प्रहरी कार्यालयका प्रमूख सई महेन्द्र थापाले जानकारी दिए।
अज्ञात समुहले वडा सचिवको कार्यकक्षमा पनि आगजनी गरेका छन् । आगजनीबाट कागजातहरु र केहि फर्निचर जलेका छन् ।
घटनास्थलमा दलालहरु होसियार, भ्रष्टचारी खबरदार, साङ्लो फिलिम चाहिंदैन, भ्रष्टाचार गर्न पाईंदैन, दुर्गा ओझा (जोरायल गाउँपालिका अध्यक्ष) मुर्दावाद, जोरायली जनता जिन्दावाद, जनताको एकता जिन्दावाद, जोरायले युवा एक हौं लगाएतका नाराहरु रहेको हस्त लिखित पर्चा भेटिएको प्रहरीले बताएको छ ।
स्मरणरहोस, केहि समय अघि जोरायल गाउँपालिकाले चलचित्र ‘साङ्लो’ का लागि १० लाख बजेट विनियोजित गरी भुक्तानीसमेत गरेको थियो । विकासको कार्यमा खर्च गर्नुपर्ने बजेट फिल्म निर्माणका लागि दिइयो भन्दै त्यसको चौतर्फी बिरोध भएको थियो ।
जुन कार्यको विप्लव समुहबाट समेत चर्को बिरोध हुँदै आएको थियो ।
वडा कार्यालयमा पनि विप्लव समुहले नै आगजनी गरेको हुनसक्ने प्रहरी अनुमान छ। घटनाबारे थप अनुसन्धान भैरहेको जोरायल इप्रका प्रमूख सई थापाले जानकारी दिए।








