‘मन्दिरमा बजेट खर्च नगर्नुस, पर्यटनको प्रवद्र्धनका संरचना बनाउनुस,– मन्त्री भट्टराई


कैलाली । संस्कति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले प्रदेश सरकारले मन्दिरमा बजेट खर्च नगरी पर्यटनको प्रवद्र्धनका संरचना निर्माणमा लगानी गर्न आग्रह गरेका छन् ।

शनिवार सुदूरपश्चिम प्रदेशको धनगढी पुगेका मन्त्री भट्टराईले स्थानिय सरकारलाई पर्यटन बर्ष २०२० सफल पार्नका लागि आफ्नो क्षेत्रमा रहेका पर्यटकिय स्थल, स्थानिय संस्कृतिको प्रचार र पर्यटन विकासका पुर्वाधार निर्माणमा लगानी गर्न आग्रह गरेका हुन ।

स्थानीय तहलाई डोजरले बाटो खन्न मात्रै बजेट नदिइएको भन्दै मन्त्री भट्टराईले भने “शिक्षा स्वास्थ्य र पर्यटन प्रवद्र्धनमा पनि लगानी गर्न स्थानीय तहले बजेट दिइएको हो, त्यसमा खर्च गर्नुपर्छ ।”

कैलालीको टीकापुर नगरपालिका– ७ ढुङ्गाना टोलमा आजदेखि शुरु हुने डल्फिन महोत्सवको उद्घाटनका लागि समेत त्यहाँ कैलाली पुगेका मन्त्री भट्टराईले हवाई सेवालाई प्रभावकारी बनाउन सबै प्रदेशमा एउटा/एउटा मुख्य हवाई केन्द्र बनाउने तयारी भइरहेको समेत जनकारी दिए ।

सुदूरपश्चिम प्रदेशको समग्र विकासको ढोका खोल्न धनगढीमा रहेको गेटा विमानस्थलको स्तरोउन्नती गर्न सरकार लागिपरेको उनले बताए।

धनगढी बिमानस्थलमा थप सुविधाहरु राख्नका लागि जग्गा अधिग्रहण गर्न बजेट छुट्ट्याएकाले बिमानस्थलको वरीपरी नयाँ संरचना निर्माणका लागि अनुमति नदिन आग्रह गर्दै नया संरचना बनाए बिमानस्थल बिस्तार गर्दा फेरी भत्काउनुपर्दा निकै बढी रकम खर्च हुने बताए ।
मन्त्री भट्टराईले सुदूरपश्चिममा पर्यटन क्षेत्रको विकासका लागि ठोस योजना मन्त्रालयमा पेश गर्न समेत सरोकारवालालाई आग्रह गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार