संखुवासभा । संखुवासमा जिप अरुण नदीमा खस्दा ६ जना वेपत्ता भएका छन् । जिल्लाको सदरमुकाम खाँदबारीबाट बिरामी बोकेर धरान जाँदै गरेको को१ज ३७४९ नंको जिप अरुण नदीमा खसेको हो ।
जिप राति १०ः३० बजे सिधैँ अरुण नदीमा खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ । दुर्घटनामा वेपत्ता हुनेमा एकै परिवारका तीन समेत रहेका छन् ।
जिप धर्मदेवी नगरपालिका–८ मा पर्ने अक्करको भिरबाट सिधै अरुण नदिमा खसेको थियो । दुर्घटनामा खाँदबारी–९ का दुईमहिने बालक समिर श्रेष्ठ, उनका बुबा सङ्गम श्रेष्ठ र आमा सदीक्षा श्रेष्ठ बेपत्ता छन् । त्यस्तै प्रमिस थापामगर, खबरमान मगर र चालक सन्तोष विक बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मीमबहादुर लामाले जानकारी दिए ।
उनका अनुसार वेपत्ताहरुको खोजि भइरहेको छ । जिप अरुण नदिमा खसेपछि खाँदबारीबाट राति नै प्रहरीको टोली परिचालन गरिएको भएपनि वेपत्ताहरु अझै घेटाउन सकिएको छैन ।








