हेटौंडा । प्रदेश ३ ले नयाँ कार्यक्रम ‘एक विद्यार्थी एक बिरुवा’ शुरु गरेको छ । यो कार्यक्रम हेटौँडा– ८ मा रहेको चन्द्रोदय माध्यामिक विद्यालय परिसरमा विभिन्न जातका बिरुवा रोप्दै शुरु गरेको हो ।
प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले यस्ता कार्यक्रममा बढी फलफूलका बिरुवा रोप्नुपर्ने बताएका छन् । आफुले स्थानीय स्तरमा पाइने र फल्ने फलफूलका विरुवा रोपेको बताए ।
‘एक विद्यार्थी एक बिरुवा’ कार्यक्रम प्रदेश ३ का सबै सामुदायिक विद्यालयमा लागू हुने बताइएको छ । आजै मुख्यमन्त्री पौडेलसहित उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल, आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेल, प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद जोशी, जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाललगायतले उक्त विद्यालय परिसरमा आँप, कटहर, घ्युफल, लिची, अम्बा, अमला, तेजपात, नास्पाती, हलुवावेद, रुद्राक्षलगायत वनस्पतिका २०० बिरुवा रोपेका छन् ।
प्रदेश सरकारले १३ जिल्लामा १३ हजार २०० बिरुवा रोप्ने लक्ष्य लिएको छ । विद्यालयमा रोपिएका विरुवाको संरक्षणको जिम्मा विद्यार्थीलाई नै दिइने छ ।











