
रुपन्देही । काठमाडौं बाहिर पहिलोपटक रुपन्देहीको तिलोत्तमामा लगानी सम्मेलन शुरु भएको छ । बिहीबार उक्त सम्मेलनको पूर्व प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उदघाटन गरे ।
सम्मेलन उदघाटन समारोहमा बोल्दै प्रचण्डसहित विभिन्न दलका नेताहरुले रुपन्देहीमा गरिने लगानी सुरक्षित हुने र उच्च प्रतिफल प्राप्त हुने बताए ।
करिब ५० अर्ब लगानी भित्र्याउने लक्ष्यसहित २२ परियोजना अघि सारेर लगानी सम्मेलन आयोजना गरेको नगरपालिकाले जनाएको छ । सम्मेलनमा नेपाल, भारत र चीनसहित विदेशी मुलुकबाट समेत गरी पाँच सय जना लगानीकर्ता सहभागी छन् ।
सम्मेलन आयोजक तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले सम्मेलनमा कृषि, उद्योग, पर्यटन, यातायात र स्वास्थ्य क्षेत्रसँग सम्बन्धित २२ परियोजनाहरु प्रस्ताव गरिएको र कम्तिमा १० परियोजनामा सम्झौता हुने अपेक्षा रहेको बताए ।
सम्मेलनमा तिलोत्तमा एकीकृत कृषि उपज संकलन तथा प्रशोधन केन्द्र (कोल्ड स्टोरसहित), तिलोत्तमा एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र, तिलोत्तमा ११ गणेशनगरमा ढाक्रेबास एकीकृत पर्यटकीय आयोजना, मिनी नेपाल, तिलोत्तमा क्यान्सर अस्पताल, तिलोत्तमा रेल्वे (रिङरोडमा) लगायत प्रस्ताव राखिएको छ ।
सम्झौता हुने परियोजनालाई नगरपालिकाले ३०/४० वर्षसम्म भाडामा जमिन उपलब्ध गराउने छ । जग्गा भाडा प्रतिकट्ठा पाँच हजार रुपैयाँ मात्र तोकिएको छ ।
नगरपालिकाले न्यूनतम ५० जनासम्मलाई रोजगारी दिने उद्योग तथा परियोजनालाई पाँच वर्षसम्म व्यावसायिक करमा ५० प्रतिशत छुट दिने जनाएको छ ।
यस्तै, तीन सयसम्मलाई रोजगारी दिनेलाई १० वर्षसम्म व्यावसायिक करमा ७५ प्रतिशत छुट दिइने नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले बताए ।
पाँच सय जनासम्मलाई रोजगारी दिने परियोजनालाई १२ वर्षसम्म व्यावसायिक करमा ९० प्रतिशत छुट दिने र पाँच सयभन्दा बढीलाई रोजगारी दिने परियोजनालाई १५ वर्षसम्म व्यावसायिक करमा शतप्रतिशत छुट दिने निर्णय नगरपालिकाको बैठकले गरेको छ ।








