काठमाडौं । सरकारले जाजरकोटमा आयोजनास्थल रहेको नलगाड जलविद्युत् आयोजनालाई सार्वजनिक निजी साझेदारीमा अगाडि बढाउने गरी जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)सँग समझदारी भएको जनाएको छ । जापान भ्रमणमा रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले जाइकाका उच्च अधिकारीसँग बिहीबार भएको छलफलमा त्यस्तो समझदारी भएको हो ।
मन्त्री पुन र जाइकाका कार्यकारी उपाध्यक्ष काजुहिको कोशिकावाबीच बिहीबार भएको भेटवार्तामा उक्त परियोजनालाई अघि बढाउने विषयमा सैद्धान्तिक सहमति भएको मन्त्री पुनको सचिवालयले जनाएको छ । विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयारीको क्रममा रहेको सो आयोजनाको क्षमतासमेत सात मेगावाटले बढेर ४१७ मेगावाट पुगेको छ । यसअघि सो आयोजनाको क्षमता ४१० मेगाबाट हुने बताइएको थियो ।
ऊर्जामन्त्री पुनले जाइकासँग सार्वजनिक निजी साझेदारीमा उक्त आयोजना अघि बढाउने गरी प्रस्ताव गरेको र जापानी पक्षले सकारात्मक जवाफ दिँदै सहमति जनाएको थियो । सो आयोजनालाई जाइकाले उच्च प्राथमिकतामा राखेको छ ।
छलफलको क्रममा जाइकाका उपाध्यक्ष कोशिकावाले नेपालको ऊर्जा क्षेत्रमा थप लगानी गर्ने प्रतिबद्धतासमेत जनाए ।
आगामी १० वर्षमा नेपालले १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको र उत्पादित बिजुली बेच्नका लागि भारत र बङ्गलादेशसँग सम्झौता भइसकेको मन्त्री पुनको भनाइ थियो ।
मन्त्री पुनले जापानी लगानीकर्तालाई नेपालमा लगानी गर्न समेत आग्रह गरेका थिए । नेपालको जलविद्युत् क्षेत्रमा लगानीको लागि सरकारले उपयुक्त वातावरण बनाएको भन्दै नेपालमा लगानी गर्न उनले आग्रह गरे ।











