झापा । मर्मत गर्नुपर्ने भन्दै कात्तिक २६ गतेबाट बन्द रहेको झापाको भद्रपुर विमानस्थल शुक्रबारदेखि पुनः सञ्चालनमा आएको छ। विमानस्थलको धावनमार्गको मर्मत कार्य सकिएपछि सञ्चालनमा आएको हो ।
चन्द्रगढी नागरिक उड्डयन कार्यालयले मर्मत तथा स्तरोन्नतिका लागि भन्दै गत कात्तिक २६ देखि मंसिर ५ सम्म विमानस्थल पूर्ण रूपमा बन्द गरेको थियो । १० दिनसम्म दिन रात काम गरेर निमार्ण कम्पनीले काम गरेपछि विमानस्थ सञ्चालन भएको बताइएको छ ।
विमानस्थलको १५ सय मिटर लम्बाई र ३० मिटर चौडाइ रहेको धावनमार्ग जीर्ण बनेको १२ वर्षपछि मर्मत गरिएको हो। धावनमार्ग मर्मत र स्तरोन्नतिका लागि १० करोड २३ लाख रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ।
निमार्ण कम्पनीले विमानस्थलको इन्धन सेवा, वारुणयन्त्र, धावनमार्ग बिस्तार, भवनको स्तरोन्नतिलगायतका काम गरिएको छ । विमानस्थल सुचारु भएपछि भद्रपुरबाट उडान गर्ने यात्रुहरुका लागि सहज हुने भएको छ । यसअघि विमानस्थल बन्द भएपछि यात्रुहरु विराटनगर आएर उडान गर्दै आइरहेका थिए ।










