
काठमाडौं । दोलखाको प्रसिद्ध कालिन्चोक मन्दिर दर्शन गरेर फर्किदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना हुँदा १३ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।
आइतबार बिहान ८ः३० बजे सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित छ किलोमा बा २ ख ४४६८ नम्बरको बस सडकबाट करिब ५०० तल खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका इन्स्पेक्टर गणेश खनालले जानकारी दिए ।
घाइतेहरूलाई उपचारका लागि विभिन्न अस्पतालमा पठाउने तयारी भइरहेको इन्स्पेक्टर खनालले बताए । घटनास्थलमा अहिले प्रहरी र स्थानीयहरु घाइते यात्रुको उद्धार गरिरहेकमा छन् । दुर्घटनाबाट बस पुर्णरुपमा क्षती भएको छ ।
सिन्धुपाल्चोकमा एक महिनाको बीचमा भएको यो अर्को दुर्घटना हो । गत कात्तिकमा सुकुटेमा बस दुर्घटना हुँदा १७ जनाको ज्यान गएको थियो ।











