
काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको निवास २ करोड ५० लाखमा किनिएको छ । महाकवि देवकोटाको नाममा संङग्राहालय बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणा अनुरुप सरकारले नै निवास र जग्गा किनेको हो ।
प्रधानमन्त्री ओलीको विसं २०७५ को देवकोटा जयन्तीका अवसरमा आयोजित कार्यक्रममा ‘महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय’ निर्माण गर्ने घोषणा गरेका थिए ।
त्यसका लागि काठमाडौँ महानगरपालिका–३०, मैतीदेवीस्थित कविकुञ्ज र उक्त कविकुञ्जले चर्चेको जग्गा आइतबारदेखि नेपाल प्रज्ञा–प्रतिष्ठानले प्राप्त गरेको छ ।
हक हस्तान्तरणबापत महाकवि देवकोटाका छोरा क्रमशः प्रा डा पद्मप्रसाद देवकोटा र डा दीपक देवकोटालाई मालपोत कार्यालय, चारखाल, डिल्लीबजारमा आज रु २ करोड ५० लाखको चेक हस्तान्तरण गरेपछि जग्गा प्राप्त भएको प्रतिष्ठानका सदस्य सचिव प्रा जगतप्रसाद उपाध्यायले जानकारी दिए।
उनका अनुसार प्रज्ञाप्रतिष्ठानको प्रस्ताव र नेपाल सरकारको निर्णयानुसार कानूनतः उक्त १२ आना १ दाम क्षेत्रफलको जग्गाको हक हस्तान्तरण भएको हो । जग्गाको अभावमा कारण संङग्राहालय बनाउने कार्यमा ढिलाई भइरहेको थियो ।











