
काठमाडौँ । रक्षामन्त्री ईश्वर पोखरेलले गोकर्ण फरेस्ट रिसोर्टलाई सरकारी जग्गा भाडामा दिदां देशलाई कुनै घाटा नहुने बताएका छन् ।बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै नेपाल ट्रष्टका अध्यक्ष समेत रहेका मन्त्री पोखरेलले गोर्कणसंग थप ३० वर्षे लिज सम्झौताबाट देशलाई कुनै घाटा नहुने दावी गरे।
सरकारले कौडीको भाउमा गोकर्णलाई सरकारी जग्गा भाडामा दिएको बिषयलाई लिएर ब्यापक आलोचनापछि उनले जवाफमा यस्तो बताएका हुन । बैठकमा सांसदहरुले पनि नियम विपरित गोकर्ण संग सरकारले सम्झौता म्याद थप गरेकोबारे प्रश्न उठाएका थिए ।
जवाफमा मन्त्री पोखरेलले सांसदहरूले वास्तविकता नै नबुझेर प्रधानमन्त्री केपी शर्मा ओली र आफ्नो विरोध गरेको बताएका छन् ।
“विद्वान् माननीयज्यूहरूले कुरा उठाउनुभएको छ, राम्रो हो। तर दुःखको कुरा सबै यथार्थ बुझ्नुभएन कि भन्ने हामीलाई परेको छ,” मन्त्री पोखरेलले भने।
मन्त्री पोखरेलले प्रचलित ऐनभित्रै रहेर सम्झौता गरिएको दावी गरे । यति होल्डिङ्सलाई कानुनअनुसार नै गोकर्ण रिसोर्ट र दरबारमार्गको जग्गा दिएको पोखरेलले प्रष्ट पारेका छन् । सरकार कानुनअनुसार चलेको उनको भनाइ थियो।
मन्त्री पोखरेलले २०६४ सालको नेपाल ट्रष्ट ऐन २०७५ मा संशोधन २०७६ असोजमा नियमावली संशोधन गरिएको बताउँदै सोही बमोजिम लिज अवधि थप प्रष्ट पारे ।
“कानुनबाहिर चल्ने सोच्न सकिँदैन, सोलो डोलो ढंगले कुरा बाहिर आएका छन्। कतिपय तथ्यसंगत ढंगले आएका छैनन्। नेपाल ट्रस्टको सम्पत्तिको विवरण संकलनको काम सम्पन्न भएपछि जनता र सांसदलाई जानकारी दिनेछौँ। केही दिनभित्रै व्यवस्थित जानकारी गराउने तयारी छ। श्वेतपत्र जारी गर्ने तयारी भइरहेको छ,”उनले भने।
उनले कौडीको भाउमा लिजमा दिएको कुराको अस्वीकार गर्दै नेपाल चार्डड एकाउन्टेन्टलाई फेयर बजार मूल्य निर्धारण गर्न लगाएर भाडा निर्धारण गरेको बताए ।
उनले पर्यटन बोर्ड, होटल एशोसियसन र गोकर्णेश्वर नगरपालिकासँग राय माग्दा उनीहरुले भाडादर उचित हुने जवाफ दिएपछि सम्झौता गरिएको जानकारी दिए ।
२०५२ सालमा साउन ३१ गते गोकर्ण होटल व्यवसाय प्रयोजनका लागि ४ हजार रोपनी मध्ये २७ सय ९२ रोपनी ३० बर्षका ५० हजार डलरमा सम्झौता भएको उल्लेख गरे । अहिले म्याद सकिन साढे ५ बर्ष अवधि बाँकी रहँदै लिज सम्झौता साढे ५ वर्ष अवधिको पनि नयाँ भाडादर अनुसार ३७ लाख डलर अर्थात ४ करोड ३१ लाख ८३ हजार २०० रुपैयाँ भाडा आउने जानकारी गराए ।
मन्त्री पोखरेलले बाँकी २५ बर्षको वापत १ अर्ब १५ करोड १० लाख २ हजार ११७ रुपैयाँ नेपाल ट्रष्टले भाडा पाउने उल्लेख गरे ।
साथै २९ करोडमा थप ४८ वटा सुविधासम्पन्न कोठा र ४ सय क्षमताको सभाहल बनाउन अनुमति दिइएको पनि उनले बताउदै आउने २५ बर्षमा व्यवसायिक करबाट सरकारले ३ खर्ब हाराहारी पाउने दावी गरे ।











