
काठमाडौं । अबदेखि बैंकमा सुन राखेर पनि ब्याज पाइने भएको छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमा गरेको व्यवस्थालाई आज (बिहीबार) देखि कार्यान्वयनमा ल्याएसँगै अबदेखि सुनलाई पनि बैंकमा राखेर ब्याज पाउन सकिने भएको हो ।
राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई परिपत्र जारी गर्दै सुनलाई समेत निक्षेपको रुपमा स्वीकार गर्न सकिने व्यवस्था गरेपछि सुनलाई बैंकमा राखेर ब्याज पाउन सकिने भएको हो । परिपत्रअनुसार वाणिज्य बैंकहरुले ९९५ फिटनेस गुणस्तरको सुन निक्षेपको रुपमा स्वीकार गर्न पाउँनेछन् ।
परिपत्रअनुसार बैंकहरुले कम्तीमा २५ ग्राम सुन निक्षेपको रुपमा लिन सक्नेछन् । त्यसरी निक्षेपको रुपमा सुन स्वीकार गर्दा सो सुनको शुद्धता र तौल एकीन गरी निक्षेपकर्तालाई प्रमाणपत्र दिनुपर्ने व्यवस्था गरिएको छ । त्यसरी प्रमाणपत्र दिँदा सुनको साँवा परिणाम, शुद्धता, निक्षेपको ब्याजदर, निक्षेपको अवधि र निक्षेपको सावा र ब्याज फिर्ता सुनमा लिने कि नगदमा भन्ने उल्लेख गर्नुपर्ने व्यवस्था समेत गरिएको छ ।
आफूले जम्मा गरेको सुनको साँवा र ब्याज सुनमै लिने हो कि नगदमा लिने हो भन्नेबारे समेत खुलाउनुपर्ने व्यवस्था गरिएको छ । यस्तो निक्षेप कम्तीमा ३ वर्षदेखि बढीमा ५ वर्ष हुनसक्ने व्यवस्था गरिएको छ । ब्याजदर भने बैंकहरु आफैंले निर्धारण गर्न सक्नेछन् ।











