भ्रष्टाचारको आरोपमा उपप्रधानमन्त्री इश्वर पोखरेलविरूद्ध पनि अख्तियारमा उजुरी


काठमाडौं । भ्रष्टाचार गरेको भन्दै उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलबिरुद्ध पनि अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।

कोरोना भाइरसको रोकथाम र उपचारका लागि चीनबाट खरीद गरिएका स्वास्थ्य सामाग्रीमा भ्रष्टाचार भएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बिहीबार अख्तियारमा उजुरी दर्ता गराएका हुन ।

अधिवक्ता त्रिपाठीका अनुसार मन्त्री पोखरेलसहित स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, स्वास्थ्य सचिव यादव कोइराला र स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठबिरुद्ध भ्रष्टाचारको आरोमा उजुरी दर्ता छ ।

सामाग्री खरीदका लागि सरकारले सम्झौता गरेको ओम्नी ग्रुपका सञ्चालकविरूद्ध पनि त्रिपाठीले अख्तियारमा उजुरी दिएको बताए।

देश कोरोनाको महामारीसंग लडिरहेका बेला स्वास्थ्य सामग्री खरीद गर्दा ठुलो कमिसन खाने र मुलुकलाई हानी पुर्‍याउने काम गरेकाले उनीहरूबिरुद्ध उजुरी दर्ता गरिएको त्रिपाठीले बताए ।

अधिवक्ता त्रिपाठीले उनीहरूले भ्रष्टाचार गरेको प्रमाण नष्ट गर्न सक्ने भएकाले सबैलाई तत्काल हिरासतमा लिएर कारबाही अघि बढाउन समेत उजुरीमा माग गरेका छन्।

चीनबाट ल्याइएका स्वास्थ्य सामाग्रीमा भ्रष्टाचार भएको भन्दै हिजो (बुधबार) मात्रै प्रदेश सभा सदस्य रमेश पौडेलले स्वास्थ्यमन्त्री ढकालविरूद्ध अख्तियारमा उजुरी दिएका थिए। उजुरी उपर आवश्यक छानविन सुरु भइसकेको अख्तियारले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार