
रुपन्देही । जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले राज्यका हरेक निकाय सबै बर्ग र समुदायको समानुपातिक सहभागिता हुनुपर्ने बताएका छन् ।
रुपन्देही पुगेका अध्यक्ष यादवले जनसंख्याको आधारमा सबै वर्ग र समुदायको राज्यका हरेक निकायमा समानुपातिक प्रतिनिधित्व हुनुपर्नेमा जोड दिएका हुन् । पूर्व उपप्रधानमन्त्री समेत रहेका यादवले बर्षौदेखि एउटा बर्गले मात्रै राज्यका विभिन्न निकायहरुमा हालीमुहाली गर्दै आएको आरोप लगाए ।
उनले अहिलेको निर्वाचन प्रणाली अत्यन्तै महँगो र गलत भएकाले पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने समेत धारणा राखे । अध्यक्ष यादवले सांसद खरिब बिक्री हुने भएकाले संसदीय ब्यवस्था नै फेर्नुपर्ने उनको भनाई छ ।
‘अहिलेको संसदीय प्रणाली असफलतातिर गइसकेको छ, सांसद खरिद बिक्री हुन्छन्, यो दोष नेताको भन्दा पनि प्रणालीको दोष हो, त्यसैले यसलाई बदल्नुपर्छ’, उनले भने ।
अहिलेको संविधान संशोधन नभए जनताले अर्को संविधान बनाउने समेत यादवले चेतावनी दिए। संघीयता विरोधीले नै संविधान बनाएकाले संविधानको संशोधन गरी सर्वस्विकार्य बनाउनुपर्नेमा जोड दिए ।
उनले ७ वटा प्रदेशको नक्सांकन र नामाकरण अव्यवहारिक र अवैज्ञानिक रहेको भन्दै उच्चस्तरीय राज्य पुनःसंरचना आयोगको प्रतिवेदन अनुसार १० वटा प्रदेश नै उचित हुने बताए।










