कंचनपुर । कंचनपुर क्षेत्र नं.१ की प्रतिनिधि सभा सदस्य उम्मेदवार बिना मगरले नदिमा तटबन्ध र आरक्ष समस्या समाधान आफ्नो पहिलो लक्ष्य रहेको बताएकी छन् ।
आज कंचनपुर क्षेत्र नं.१ को लालझाडी गाउँपालिका ३ स्थित दोदा नदि कटानको अनुगमन गर्दै सत्ता गठबन्धनकी साझा उम्मेदवार मगरले दोदा नदि कटान क्षेत्रमा तटबन्ध गर्ने आफ्नो लक्ष्य रहेको बताएकी हुन् ।
अनुगमनका क्रममा स्थानिय पीडितहरुले नदिमा तटबन्ध गर्नेलाई मात्रै चुनावमा आफुहरुको साथ सर्मथन रहने भनेपछि उम्मेदवार मगरले आफ्नो चुनावी एजेण्डामध्ये दोदा नदि कटान क्षेत्रमा तटबन्ध गर्ने योजना प्राथमिकतामा रहेकाले समस्या समाधान गर्ने प्रतिबद्धता गरेकी छन् ।
आफ्नो अघिल्लो कार्यकालमा तटबन्धका लागि बजेट निकासा भएर केहि काम सुरु भएको तर स्थानियस्तरमा समझदारी हुन नसक्दा कार्यान्वयनमा जान नसकेको उनको भनाई थियो ।
पूर्वमन्त्री समेत रहेकी मगरले दोदा नदि कटानबाट लालझाडी गाउँपालिकामा सयौं परिवार बिस्थापित भएकाले त्यसको ब्यवस्थापनबारे सरकारले नै बिषेश योजना बनाउनुपर्नेमा जोड दिइन् ।
मंसिर ४ मा हुने चुनावमा सत्ता गठबन्धनलाई जिताएर स्थायी सरकार बनेमा समस्या समाधान गर्न सहज हुने समेत उनको भनाई थियो ।
सत्ता गठबन्धनको जन्म नै संविधानको रक्षा गर्न र देशमा स्थायी सरकारमार्फत विकास र समृद्धी ल्याउन भएकाले चुनावमा आफुहरुलाई बहुमतले जिताउन उनले आग्रह गरिन् ।