
बाजुरा। बाजुरामा नेकपा एमाले पत्तासाप भएको छ । मंसिर ४ मा सम्पन्न चुनावको मतपरिणाम अनुसार बाजुरामा सत्ता गठबन्धनका काँग्रेस र एकीकृत समाजवादी विजयी भएका हुन् ।
प्रतिनिधिसभा र प्रदेश सभा दुईमा काँग्रेस विजयी भएको छ भने प्रदेशसभा एकमा एकीकृत समाजवादी विजयी भएको छ ।
सम्पन्न मतगणना अनुसार प्रतिनिधिसभामा नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे विजयी भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार रहेका पाण्डेले एमालेका कर्णबहादुर थापालाई ५ हजार ३६० मतान्तरले पराजित गरेका हुन् ।
पाण्डेले ३१ हजार ७८९ मत पाए भने एमालेका स्थानीय कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेशका सहइन्चार्ज समेत रहेका थापाले २६ हजार २४८ मत पाए ।
त्यसैगरी, बाजुराको प्रदेशसभा निर्वाचन क्षेत्र १ मा एकीकृत समाजवादीका उम्मेदवार नरेशकुमार शाही विजयी भएक छन्। शाही १० हजार ९७३ मत पाएर निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बलदेव रेग्मीले ८ हजार ६३२ मत पाए भने तेस्रो स्थानमा रहेका नेकपा माओवादी केन्द्रका उम्मेदवार कर्णबहादुर विश्वकर्माले १ हजार ९८ मत पाए ।
त्यस्तै प्रदेशसभा निर्वाचन क्षेत्र २ मा नेपाली कांग्रेसका पदमबहादुर शाही निर्वाचित भएका छन् । मतपरिणाम अनुसार शाही २० हजार ११९ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार लाल बहादुर थापाले १७ हजार ५२१ मत प्राप्त गरे । त्यस्तै स्वतन्त्र उम्मेदवार जनक बहादुर रावलले १५५ र राप्रपाका उम्मेदवार हिमाल बहादुर शाहीले १२२ मत पाए ।










