
काठमाडौं । कंचनपुर – १ बाट निर्वाचित रास्वपाका सांसद जनकसिंह धामीले आफ्नो निर्वाचन क्षेत्रमा रहेको सीमा समस्याका बिषयमा संसदमा आवाज उठाएका छन् ।
आज प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, “सीमा विवाद र खुला सीमाका कारण मेरो क्षेत्रका जनताहरूले ठूलो चुनौतीको सामना गर्नु परेको छ । जहाँ गोविन्द गौतम सहीद पनि भएका थिए ।”
खुला सीमाको समस्या बताउँदै उनले नेपालीहरूको हातमा लालपुर्जा रहेको भएपनि जग्गाको भागचलन भने भारतीयहरूले गरिरहेको बताए ।
भारतसंगको ३८ नम्बर पिल्लर छेउछाउ भारतीय पक्षले हुलाकी सडक निर्माणमा अवरोध गरिरहेको सांसद धामीको भनाई छ । कंचनपुरको दक्षिण क्षेत्र बेलौरी भन्सार स्तरउन्नती नहुँदा राजश्व संकलन न्यून रहेको समेत उनले बताए ।
“सीमा समस्या र व्यवस्थापनका लागि उच्चस्तरीय कुटनीतिक पहल गरियोस् भनी सम्माननीय सभामुखज्यू र सदनमार्फत म सरकारसमक्ष माग गर्दछु”, उनले भने ।
खुला सीमाका कारण कंचनपुरको दक्षिणी क्षेत्रमा लागूऔषध ओसारप्रसार र दुर्व्यसनले युवाहरूको भविष्य जोखिममा परेकोप्रति सरकार गम्भिर हुनुपर्नेमा सांसदले धामीले जोड दिए ।











