काठमाडौं । गैर आवासीय नेपाली संघ ( एनआरएन) ले विश्वभर कोरोनाको संक्रमणबाट ज्यान गुमाउने नेपालीको संख्या १४ पुगेको जानकारी दिएको छ । संघले अहिलेसम्म विश्वका विभिन्न देशमा रहेका १४ जना नेपालीको मृत्यु भइसकेको जानकारी दिएको हो ।
(एनआरएनए) ले संकलन गरेको तथ्यांकअनुसार अमेरिका, बेलायत र युएईमा १४ जना नेपालीको मृत्यु भएको छ । यो तथ्यांक संकलनका लागि गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा उच्चस्तरीय समिति गठन गरिएको थियो । उक्त समितिको नाम स्वास्थ्य समिति राखिएको थियो ।
समितिले संकलन गरेको तथ्यांकअनुसार अमेरिकामा ५, बेलायतमा ८, र युएईमा १ गरी १४ जनाको मृत्यु भएको छ ।
त्यस्तै कोरोनाबाट संक्रमितको संख्या पनि ६ सय बढी रहेको छ । अहिलेसम्म कोरोनाबाट ६ सय ७५ जना गैरआवासीय नेपाली संक्रमित बनेका छन् ।
संक्रमित सबै भन्दा धेरै अमेरिकामा रहेका छन् । नेपालीहरु अमेरिका, बेलायत,स्पेन, पार्चुगल, जर्मनी, युएई, साउदी, कुवेत, जापान, मलेसिया,हङकङ र अस्ट्रेलियामा संक्रमित रहेका छन् ।












