
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन दलहरुबीच चुनावसम्मै सहकार्य हुने बताएका छन् ।
बहुमत बिनाको सरकारले जनताको पक्षमा खासै काम गर्न नसक्ने भएकाले अहिलेकै अवस्थामा चुनावमा जाँदा कसैको पनि बहुमत नआउने उनको तर्क छ ।
नेपाली कांग्रेस पर्साका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई ज्ञापन गर्दै प्रधानमन्त्री देउवाले सत्ता गठबन्धन दलहरूबीच गठबन्धन गरेरै चुनावमा प्रतिस्पर्धा गर्नेबारे गठबन्धनका नेताहरुबीच छलफल भइरहेको जानकारी दिए।
काँग्रेसका केहि नेताहरुले गठबन्धन छोडेर एक्लै चुनाव लड्ने भनिरहेका बेला प्रधानमन्त्री देउवाले हिजो एक्लै चुनाव लड्दा हाम्रो अवस्था के थियो ? भनि प्रश्न गरे ।
“हिजो एक्लै चुनाव लड्दा हाम्रो अवस्था के थियो ? तपाईंहरूलाई थाहै छ, अहिले गठबन्धनका सरकार हुँदा मिलेर चुनाव लडियो भने स्थानीय तह, प्रदेश र केन्द्रमा पनि हाम्रो गठबन्धनको सरकार रहिरहन सक्छ”, देउवाले प्रष्ट पारे ।
काँग्रेस सभापति समेत रहेका देउवाले आफू प्रधानमन्त्री भएपछि देशको अवस्थामा बदलाव आएको दावी गरे । गठबन्धन सरकारले परिर्बतनको रक्षा गर्दै जनताका अधिकारहरूलाई ग्यारेण्टी गर्ने बाटोमा मुलुकलाई अघि बढाएको समेत बताए ।









