
सिरहा । सिरहाको लहान नगरपालिकाका नवनिर्वाचित मेयर महेश प्रसाद चौधरीले पदभार ग्रहण लगत्तै महत्वपुर्ण चार वटा निर्णय गरेका छन् । निम्न वर्गिय जनतासंग प्रत्यक्ष सरोकार राख्ने बिषयमा मेयर चौधरीले महत्वपुर्ण चार वटा निर्णय गरेका हुन् ।
आज पदभार ग्रहण गर्दै मेयर चौधरीले सरकारले आफुलाई दिने सुविधाबाट प्रत्येक महिनाको २२ गते नगरभित्रका दलित वस्तीमा गएर प्रत्येक परिवारलाई खाद्यान्न सहयोग गर्ने निर्णय गरेका छन् ।
अनमोलपोस्टसंग कुराकानी गर्दै मेयर चौधरीले प्रत्येक महिना दलित वस्तीमा गएर प्रति परिवारलाई १० किलो चामल, १ पोका खाने तेल र १ किलो नुन निशुल्क वितरण गर्ने घोषणा गरेको जानकारी दिए। समाजमा दलित समुदाय सबैभन्दा बढि गरिबी र अभावमा रहेकाले आफुले ब्यक्तीगत रुपमा थोरै भएपनि प्रत्येक महिना खाद्यान्न सहयोग गर्ने उनको भनाई छ ।
मेयर चौधरीले आफ्नो दिवंगत श्रीमती संगीता कर्माचार्यको सम्झानामा ब्यक्तीगत खर्चमा दलित वस्तीमा खाद्यान्न राहात वितरण गर्ने समेत उनले अनमोलपोस्टलाई बताए । यस्तो कार्य आफुले श्रीमतीसंगै गरेका कारण पनि यसलाई निरन्तरता दिने उनले बताए । उनका अनुसार संगीताको अघिल्लो बर्ष जेठ २२ गते कोरोना संक्रमणका कारण निधन भएको थियो ।
लकडाउनमा गरिब, विपन्न परिवारलाई ब्यक्तीगत खर्चमा राहात वितरण गर्दा गर्दै संगीता संक्रमित हुन पुगेको चौधरीले सुनाए । लकडाउनमा ब्यक्तीगत रुपमा करिब चार हजार परिवारलाई खाद्यान्न लगायतको राहात वितरण गरेको मेयर चौधरीले बताए ।
नेपाली कांग्रेस सिराहा क्षेत्र नं-१ का क्षेत्रीय सभापति समेत रहेका मेयर चौधरीले दलित सुमदायभित्रको अति नै पिछडिएको मुसहर समुदायका परिवारलाई किरिया खर्च स्वरुप रु ५ हजार नगरपालिकाका तर्फबाट सहयोग दिइने पदभार ग्रहण गरेपछिको पहिलो निर्णयभित्र राखेको बताए ।
त्यस्तै, नागरीकता सिफारीस, जन्मदर्ता, विवाद दर्ता र मृत्युदर्ता निशुल्क गर्ने समेत निर्णय गरेको उनले जानकारी दिए । पदभार ग्रहणपछि पहिलो निर्णयमा नगरभित्रका बृद्धबृद्धा, असाहयहरुलाई घरमै गएर पेन्सन र भत्ता वितरण गरिने समेत निर्णय गरेको नवनिर्वाचित मेयर चौधरीले जानकारी दिए ।
स्थानिय तह निर्वाचनमा मेयर चौधरी लहान नगरपालिकामा एमालेको गढ भत्काउँदै मेयरमा विजयी भएका हुन् । उनले २० हजार १ सय ५ मत ल्याएका थिए । चौधरीका निकटतम प्रतिस्पर्धी एमालेका मुनि साह सुडीले ११ हजाए ९ सय ६६ मत प्राप्त गरेका थिए । सुडी २०५४ र २०७४ मा लहान नगर प्रमुख रहँदै आएका थिए ।
भिडियो पनि हेर्नुहोस









