
काठमाडौ । नेकपा एकिकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले आफु चुनाव लड्दै आएको काठमाडौं क्षेत्र नम्बर २ मा आफ्नो उत्तराधिकारीका रुपमा एलपी श्रेष्ठलाई अघि सारेका छन् । एकिकृत समाजवादी जिल्ला कमिटी काठमाडौंको तेस्रो पूर्ण बैठकको निर्णयले नेता श्रेष्ठलाई अध्यक्ष नेपालले आफ्नो चुनाव क्षेत्र काठमाडौं क्षेत्र नम्बर २ मा उत्तराधिकारीका रुपमा अघि सारेका हुन् । आगामी मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उक्त क्षेत्रबाट नेता श्रेष्ठ उम्मेदवार हुने तयारी छ ।
अध्यक्ष नेपालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त बैठकले नेता श्रेष्ठको नेतृत्वमा २ सय ८१ सदस्यीय जिल्ला कमिटी पुनर्गठन समेत गरेको छ ।
कमिटीको उपाध्यक्षमा कुमारी श्रेष्ठ र बटुकृष्ण थापा, उपसचिवहरूमा कृष्णहरि खत्री, ध्रुबराज न्यौपाने र सुरेन्द्र हर्ष बज्राचार्य सर्वसम्मत चयन भएका छन् । त्यस्तै सचिव पद भने खाली रहेको छ । हाल खाली रहेको सचिव पद व्यबस्था नभएसम्म उपसचिव ध्रुबराज न्यौपानेलाई उक्त जिम्मेवारी दिने बैठकले निर्णय गरेको छ ।













