काठमाडौं । नेकपा सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियूले लैनचौरमा रहेको भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेको छ । भारतले नेपाली भूभाग मिचेको विरोधमा शुक्रबार विद्यार्थीहरुले दूतावास केन्द्रित विरोध प्रदर्शन गरेका हुन् ।
उनीहरुले ‘लिपुलेक हाम्रो हो’, ‘कालापानी हाम्रो हो’ लेखिएका प्लेकार्डसहित नाराबाजी गरेका छन् । अस्कल क्याम्पसबाट सुरु भएको विरोध र्याली भारतीय दूतावास कार्यालय अगाडि आएर कोणसभामा परिणत भएको थियो ।
यसअघि अनेरास्ववियूले नै भृकुटीमण्डपमा ‘गो ब्याक इण्डिया’को नारासहित प्रदर्शन गरेको थियो ।
भारतले हालै सार्वजनिक गरेको नक्सामा भारतसँग सीमा जोडिएको नेपाली भूमि लिपुलेक भारतीय क्षेत्रभित्र देखिएपछि नेपालभर भारतविरुद्ध प्रदर्शन हुँदै आएको छ ।
शुक्रबार नै नेविसंघसहितका विद्यार्थीहरुले पनि लैनचौरमै प्रदर्शन गरेका थिए । संयुक्त विद्यार्थी आन्दोलनको ब्यानरबाट गरिएको प्रदर्शनमा सहभागीहरुले भारतको विवादित नक्सा जलाएका थिए । शुक्रबार बिहान नै नेविसंघले पशुपति क्याम्पसदेखि चाबहिल चोकसम्म विरोध प्रदर्शन गरेको थियो ।
नेपाल सरकार र राजनीतिक दलका नेताहरुले समेत लिपुलेक नेपालको भूमि भन्दै भारतको विवादित नक्सा सच्याउन माग गर्दै आएका छन् । तर, भारतले भने आफ्नो नक्सा सही भएको दाबी गर्दै आएको छ ।










