
कैलाली । नेपालमा कोरोनाका थप तीन जना बिरामी पोजेटिभ भेटिएका छन् । शनिबार कैलाली र कञ्चनपुरमा तीन जना कोरोना पोजेटिभ भेटिएका हुन् ।
यो सँगै नेपालमा कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिएका बिरामीको संख्या ९ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयले शनिबार कैलालीमा तीन जनामा कोरोना पोजेटिभ भएको पुष्टी गरेको छ । मन्त्रालयले आफ्नो आधिकारीक फेसबुक पेज मार्फत जानकारी गराएको हो ।
मन्त्रालयका अनुसार संक्रमितमध्ये एक जना स्थानीय हुन् । भने दुई जना बाहिरबाट आएका हुन् । सातौं केस सुदूरपश्चिमको पहिलो र नेपालको चौथो संक्रमितका ३४ वर्षीया भाउजु रहेको बताइएको छ ।
त्यस्तै आठौं व्यक्ति कैलालीको लम्कीका २१ वर्षीय पुरुष रहेका छन् । उनी केही समयअघि मात्रै भारतको मुम्बईबाट आएका हुन् । र उनी क्वारेन्टाइनमा थिए ।
नवौँ व्यक्ति भने कञ्चनपुरका ४१ वर्षीय पुरुष हुन् । उनी पनि केही समयअघि भारतको उत्तराखण्डबाट आएका थिए । उनी पनि क्वारेन्टाइनमा रहेका थिए ।
संक्रमित तीनै जनालाई अहिले सेती प्रादेशिक अस्पताल धनगढीको आइसोलेसनमा राखिएको छ ।
पहिलो पटक स्थानीयमा पनि कोरोना पोजेटिभ
नेपालमा पहिलो पटक कैलालीमा स्थानीयमा कोरोनाको संक्रमण देखिएको छ । संक्रमित ३४ वर्षीया महिला यसअघि कैलालीमा चौथों संक्रमित रहेका पुरुषकी भाउजु भएको बताइएको छ ।
चौथो संक्रमित ति व्यक्ति विदेशबाट आएर केही समय घरमै बसेका थिए । उनी घरमा बसेको बेला ज्वरो आउने समस्या देखिएपछि उनी अस्पताल गएका थिए । पछि परिक्षण गर्दा कोरोना पोजेटिभ भेटिएको थियो ।
त्यसपछि उनका आफन्तलाई आइसोलेसनमा राखिएका थियो । मन्त्रालयका अनुसार कम्युनिटी ट्रान्समिसन महामारी पूर्वको अवस्था हो । त्यसैले यो सातौ संक्रमित नेपालका लागि निकै महत्वपूर्ण हुने बताइएको छ ।










