कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले गोर्खा मिडियामा सहकारीको पैसा आएको बिषयमा आफ्नो संलग्नता नभएको दावी गरेका छन् ।
पार्टी कामका लागि आज कैलालीको धनगढी पुगेका सभापति लामिछानेले धनगढी विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गोर्खा मिडियामा गलत ढंगले सहकारीको पैसा आएको तर आफ्नो संलग्नता नभएको दावी गरेका हुन् ।
उनले सहकारीबारे बनेको संसदीय छानविन समितिको प्रतिवेदन समस्या समाधान गर्ने गरी आउनेमा आफु विश्वस्त रहेको बताए ।
छानविन समितिले केहि दिन अघि लामिछानेसंग झण्डै दश घण्टा लगाएर सहकारी ठगीबारे वयान लिएको थियो । जसमा उनले इन्कारी वयान दिएका थिए । तर, लामिछानेले सहकारीको पैसा अपचलन गरेको प्रमाण भेटिएकाले कारवाहीका लागि सिफारीस गर्ने तयारी भइरहेको समेत चर्चा छ । तर, लामिछानेले गोर्खा मिडियामा भएकै कारण अरुले गरेको बद्मासीको जिम्मा आफुले लिनुपर्छ भन्ने नहुने दावी गर्दै आएका छन् । गोर्खा मिडियामा रहँदा कम्पनीको कार्यकारी निर्देशकको महत्वपुर्ण जिम्मेवारीमा रहेकाले अध्यक्ष जिबी राईसंगै लामिछाने पनि दोषी हुने कतिपयको भनाई छ ।