
अमेरिका । अमेरिकाको न्यूयोर्कमा दुई नेपालीको मृत्यु भएको छ। मुस्ताङ घर भई न्युयोर्कको क्वीन्समा बस्ने सोनाम लामा र ज्याक्सन हाइट बस्ने थोंग्वेन विष्टको मृत्यु भएको हो ।
झण्डै २० बर्षदेखि अमेरिकामा बस्दै आएका अन्दाजी ४८ बर्षीय बिष्टका २ छोरा र श्रीमती काठमाडौंमा बस्दै आएका छन् ।
सन्नीसाइडस्थित अपार्टमेन्टमा बस्दै आएका बिष्टको हिजो बिहान मृत्यु भएको भएपनि साँझ मात्रै प्रहरी घटनास्थल पुगेको स्थानिय नेपाली संचारमाध्यमले जनाएका छन् ।
बिष्टलाई सुरुमा टाउको दुख्ने र स्वास फेर्न गाह्रो हुने समस्या भएपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो । अस्पतालले उनको फोक्सोमा समस्या रहेको तर भर्ना गर्न नमानेपछि उनि घरमै आराम गरिएका थिए । कोरोनाको आशंका गरिएपनि रिपोर्ट आउन बाँकी रहेको समाचारमा उल्लेख छ ।
लामो समयदेखि अमेरिका बस्दै आएको भएपनि कागजपत्र नभएका कारण उनि नेपाल फर्कन सकेका थिएनन् ।
अर्का मृतक अन्दाजी ४० बर्षीय सोनामको पनि आफ्नै कोठामा मृत्यु भएको जनाइएको छ। ज्याक्सन हाईटमा एक्लै बस्दै आएका उनी केही दिनदेखि बिरामी भएर घरमा आरम गरिरहेका थिए।
झण्डै १८ बर्षदेखि अमेरिकामा बस्दै आएका मुस्ताङका सोनामको मृत्यु कोरोना संक्रमणकै कारण भएको अनुमान गरिएपनि रिपोर्ट आउन भने बाँकी रहेको बताइएको छ।














