डोटीमा गोली हानी महिलाको हत्या

डोटी । डोटीमा गोली हानेर एक जना महिलाको हत्या गरिएको छ । जोरायल गाउँपालिका ४ देउथलाकी २० वर्षीय अनिता वनको गोली हानी हत्या गरिएको हो ।

उनको आइतबार बेलुकी करिब ५ बजेतिर गोली हानी हत्या गरिएको प्रहरीले जनाएको छ ।

घरमै भएको घटनामा युवतीको छातीमा गोली लागेको र घटनामा भरुवा बन्दुक प्रयोग गरिएको प्रहरीको भनाई छ । अनितालाई गोली हानी हत्या गरिएको आरोपमा उनका श्रीमान् खड्क वनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तर उनका श्रीमान् खड्कले भने आफूले गोली नहानेको बताएका छन् । तर घटना भएको बेला घरमा उनका श्रीमान् बाहेक अरु कोही पनि नभएको पनि खुलेको छ ।

घटनाको समयमा खडककी आमा विपिनगर खडककी फुपुको घर गएको, बुबा गाउँकै माथिपट्टी रहेको पसलमा गएको र भाइ बल खेल्न गएको बताइएको छ ।

डडेल्धुराको भागेश्वर गाउँपालिका ५ बगरकोट सिराडीकी अनिताले खडकसँग गत फागुन २९ गते विवाह गरेकी थिइन् ।

प्रहरीले उनको हत्याको बारेमा अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार