काठमाडौं । शनिबारदेखि सरकारले देशभर व्यवस्थापन गरिएका क्वरेन्टाइनको अनुगमन गर्दै छ । सरकारले स्थानीय तह तथा अन्य निकायमार्फत् व्यवस्थापन गरिएका क्वारेन्टाइनको मापदण्ड पुगे नपुगेकोबारे स्थलगत अवलोकन गर्न लागेको हो ।
सरकारले क्वारेन्टाइनमा पुगेर व्यवस्थापन तथा सञ्चालन कार्यविधि अनुसार मापदण्ड पुरा भए नभएको स्थलगत अनुगमन र आवश्यक सहजीकरण गर्ने बताएको छ । विदेशबाट आएका व्यक्तिहरु तथा शंकास्पद अन्य व्यक्तिहरुलाई कोरोना रोगबाट संक्रमण हुन नदिन देशभर क्वारेन्टाइन बनाइएका छन् ।
सुरुमा सरकारले भोलि मध्यान्ह काठमाडौंको पशुपति क्षेत्रमा सञ्चालित क्वारेन्टाइनको अवलोकन गर्ने भएको छ ।
मन्त्रिपरिषद्को गत चैत्र १६ गतेको बैठकले सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतलाई अनुगमन र सहजीकरणको जिम्मेवजारी दिएको थियो ।
उनले आज उपत्यकाका १८ वटै नगरप्रमुख, तिन जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा नेपाली सेनाका क्वारिन्टाइन व्यवस्थापनमा खटिएका पृतनापतिसँग छलफल गरेका छन् । छलफलमा मन्त्री मानन्धरले क्वारेन्टाइन व्यवस्थापन तथा सञ्चालन मापदण्डबारे जानकारी गराउँदै अब सरकारले भोलिदेखि अनुगमनलाई तिब्रता दिन लागेको जानकारी दिएका छन् ।
अनुगमनपछि प्रतिवेदन समेत बनाइने छ । उनले क्वारेन्टाइनको चाबी बोकेर तयारी अवस्थामा रहन सम्बन्धीत सबैलाई आग्रह गरेका छन् ।












