काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली लगाएतका तलब भत्ता नलिने नेताहरुलाईलाई प्रश्न गरेका छन् । नेताहरुको विलासी रहनसहनको खर्च तलब नलिएपछि कसरी चल्छ भन्दै प्रश्न गरेका हुन् ?
मंगलबार भट्टराईले ट्वीट गर्दै, तलबभत्ता पूरै त्याग्ने घोषणा राम्रो हो तर आफ्नो कुनै पैतृक सम्पति, बचत र वैध कमाइ नहुनेहरु (कमसेकम संसद र सरकारलाई बुझाएको सम्पत्ति विवरणमा नदेखिने ) को विलासी रहनसन र चुनावको खर्च कसरी चल्छ, त्यो पनि बताउँदा राम्रो होला कि भनेर प्रश्न गरेका छन् ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार नयाँ वर्षको अवसरमा देशवासीलाई सम्बोधन गर्दै कोरोना भाइरसको महामारी अन्त्य नभएसम्म पारिश्रमिक नलिने बताएका थिए । आफूले पाउने पारिश्रमिक कोरोना रोकथाम तथा नियन्त्रणका लागि बनाइएको प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने घोषणा गरेका थिए ।
त्यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले दुई महिनाको तलब, उपराष्ट्रपति नन्दबहादुर पुनले एक महिनाको तलब, मन्त्रीहरुले एक महिनाको तलब र सांसदहरुले १५ दिन तलब कोरोना कोषमा जम्मा गर्ने घोषणा यसअघि नै गरिसकेका छन् ।
सोमबार नै नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ (प्रकाश)ले पनि पारिश्रमिक नलिने घोषणा गरेका थिए । उनले आफ्नो एक वर्षको पारिश्रमिकमध्ये दुई महिनाको तलब कोरोना उपचार तथा राहत कोषमा र बाँकी १० महिनाको तलब विपन्न वर्ग केन्द्रित आर्थिक राहत प्याकेजका लागि दिने घोषणा गरेका हुन् ।
यसरी प्रधानमन्त्री देखि अन्य नेताहरुले आफूले आफ्नो सबै तलब भत्ता कोरोनाको लागि खर्च गर्ने बताएपछि बाबुरामले प्रश्न गरेका हुन् ।










