कैलाली । विश्वभर कोरोना भाइरसको त्रास छ । नेपालमा पनि कोरोना संक्रमित दिनप्रतिदिन बढ्दै गएपछि चैत ११ गतेबाट लकडाउन धोषणा गरिएको छ ।
तर कैलालीमा भने एकैदिन दुईवटा बलात्कारका घटना भएका छन् । कैलालीको भजनी नगरपालिकाकी १५ वर्षीया किशोरीमाथि मंलबार साँझ सामूहिक बलात्कार भएको छ ।
गोठालो गएका बेला उनीमाथि सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ । घटनामा संलग्नताको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ समेत गरेको छ ।
प्रहरीले सामूहिक बलात्कारमा संलग्न तीनै जनाको नाम सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा जोशीपुर गाउँपालिका ४ लालपुरका २९ वर्षका रामकुमार चौधरी, २२ वर्षका मंगल चौधरी र ३१ वर्षका सुरेश कुमार चौधरी रहेका छन् ।
उनीहरुलाई बलात्कार मुद्दामा अनुसन्धानका लागि कैलाली जिल्ला अदालतबाट १५ दिनको अनुमति लिएको छ ।
त्यस्तै मंगलबार कैलालीकै गौरीगंगा नगरपालिका १ कि १७ वर्षीया किशोरीमाथि पनि सामूहिक बलात्कार भएको थियो । उक्त घटनामा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको थियो । दुवै घटनाका दोषिलाई कडा कारवाहीका लागि माग समेत गरिएको छ ।









