
काठमाडौं । विश्व कोरोनाको त्रास छ । नागरिकमा निरासा छ । कोरोनाले धेरै देश लकडाउनमा छन् । काम छैन्, काम नभएकै कारण नागरिकलाई हातमुख जोर्न समस्या छ ।
यो समस्या नेपालको पनि हो । सरकारले कोरोना फैलिन नदिनका लागि लकडाउन घोषणा गरेकाे आज २५ औं दिन भयो । दैनिक ज्याला मज्दुरी गरेर जिवन निर्वाह गरिरहेका नागरिकलाई यतिबेला निकै गाह्रो छ ।
काम गर्ने ठाउँ बन्द भएपछि उनीहरुलाई के खाने भन्ने ठुलो चिन्ताको विषय बन्यो । अनि लकडाउनकैबीच त्यो ठाउँ छोड्न बाध्य भए । अहिले धेरै नागरिक आफुले काम गरिरहेको ठाउँबाट ६ देखि ८ दिन लगाएर हिँडेर गाउँ गइरहेका छन् ।
बाटोमा उनीहरुलाई खान, बस्न र पानीको निकै समस्या छ । हुनेले खान्छन, नहुने भोकभोकै पनि हिँडिरहेका छन् । आफूमात्रै नभएर साथमा बच्चाहरु पनि बोकिरहेका छन् ।
यस्तो बेलामा ती नागरिकलाई ठाउँ ठाउँमा खाना, पानी र बासको व्यवस्था गर्न नेपाल तरुण दलले आफ्ना कार्यकर्तालाई अनुरोध गरेको छ । पैदल हिँडेरै घर गइरहेका नागरिकको यात्रालाई सहज बनाउन नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले कार्यकर्तालाई अनुरोध गरेका छन्
साथै उनले कष्टपूर्ण यात्रा गरी आफ्नो घरसम्म गइरहेकाहरुलाई सरकारले उचित व्यवस्था गर्न नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
आज एक विज्ञप्ति जारी अध्यक्ष बस्नेतले यस्तो अनुरोध गरेका छन् । विज्ञप्तिमा भनिएको छ, “सबैले आ–आफनो तर्फबाट राजमार्गमा हिँडेर आफनो गन्तव्यमा गइरहेका मजदुरहरुका लागि ठाउँ ठाउँमा खाना, पानी र विश्राम स्थलको व्यवस्था गरी यात्रामा सहजता प्रदान गरिदिन अनुरोध गरिन्छ ।”
विज्ञप्तिमा पर्याप्त सुरक्षा सामग्री बिना पनि अग्रपंक्तिमा रही काम गरिरहेका स्वास्थ्यकर्मी, सञ्चारकर्मी, सुरक्षाकर्मी, आपूर्तिकर्ता, एम्बुलेन्स चालक, फोहोर संकलकहरुको प्रशंसा गर्दै तरुण दलले यी वर्गका लागि आवश्यक पर्ने सुरक्षा साम्रागीसँगसँगै थप सुविधा पनि व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।
यसअघि पनि तरुण दलले मज्दुरका बारेमा सरकारको ध्यान आकर्षण गराउदै आएको अध्यक्ष बस्नेतले बताएका छन् । तर सरकारले आफ्नो कुरा नसुनेको आरोप पनि लगाएका छन् ।










