‘अध्यादेश ल्याउनु अनुचित र अनिष्टकारी’– नेता भिम रावल


काठमाडौं । सत्तारुढ नेकपा स्थायी कमिटी सदस्य भीम रावल सरकारले सरकारले ल्याएको अध्यादेशको चर्को बिरोध गरेका छन् ।

उनले सामाजिक सञ्जाल ट्वीटर, फेसबुकमा यसबारे आफ्नो प्रतिकृया दिदैं जारी अध्यादेशलाई अनुचित र अनिष्टकारी भनेका छन् । सरकारले पार्टी विभाजन सहज हुने गरी सोमबार जारी गरेको अध्यादेशबारे उनले भनेका छन्, “कोरोना संक्रमणबाट जनताको सुरक्षा गर्न सिंगो राष्ट्रलाई एकतावद्ध गरी अघि बढ्नुपर्ने अवस्थामा पार्टीमा कुनै छलफल नगरी पार्टी विभाजनलाई सहज तुल्याउने र संवैधानिक परिषदमा नियन्त्रण र सन्तुलनको मान्यतालाई खण्डित गर्ने गरी अध्यादेश ल्याइनु अनुचित र देशको लागि अनिष्टकारी हो ।”

सोमबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी दुई अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । उक्त अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा आजै जारी भइसकेको छ ।

अध्यादेशबारे छलफल गर्न बसेको मन्त्रिपरिषद् बैठकमा पनि कतिपय मन्त्रीहरुले अध्यादेशबारे असन्तुष्टी जनाएका थिए ।
तर पनि प्रधानमन्त्रीले एकलौटी निर्णय गर्दै अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए । त्यसपछि सरकारमा रहेका पूर्वमाओवादी मन्त्रीहरुको छुट्टै बैठक समेत भएको थियो ।

अध्यादेशबारे पार्टीभित्र एक्कासी चर्को विवाद देखिएपछि प्रधानमन्त्री ओलीले आकस्मिकरुपमा पार्टीको सचिवालय बैठक बोलाएका थिए । तर, सिफारिस गरिएका अध्यादेशबारे सचिवालय बैठकमा छलफल हुँदै गर्दा राष्ट्रपतिद्धारा अध्यादेश जारी भएपछि बैठक नै औचित्यहिन बन्न पुगेको थियो ।

सोमबार जारी अध्यादेशबारे प्रतिपक्षी काँग्रेस, राजपा लगायत नागरिक समाज, बुद्धिजिवी बर्गबाट ब्यापक बिरोध भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार